प्रदीप गिरीको १५ प्रेम वचन

What is true love?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद प्रदीप गिरीले www.nepalkhabar.com मा लेख्नु भएको 'प्रदीप गिरीका १५ प्रेम वचन' हरु ।

१. प्रेम स्वतन्त्रताको अर्को नाम हो । जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम होइन ।

२. तपाईं कसैसँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यहाँ स्वतन्त्रता हुँदैन । स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर विवाहले मान्छेको रोमान्टिक चाहनालाई बाँध्छ ।

३. विवाह र परिवारजस्ता सम्बन्धसँग म सहमत छैन । यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन् । तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ। तर त्यसपछि पनि प्रेमको अन्त्य हुँदैन ।

४. विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन । विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो । विवाह–सम्बन्ध त निजी सम्पत्तिसँग छ ।

५. प्रेमका सन्दर्भमा मान्छे एकलगामी होइन, स्वभावैले बहुगामी प्राणी हो । बाहिर अरु युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ। घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर मात्रै ऊ डराउँछ । महिलाको मन पनि त्यस्तै हो ।

६. प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिंदा मलाई खुशी लाग्छ । मान्छेहरू प्रेमिकालाई आफ्ना गाइवस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन् । मेरा लागि प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन् ।

Meaning of love

७. विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण । राम रुन्चे छन्, कृष्ण प्रफुल्ल । अहिलेसम्म आदर्श प्रेमी भनिएका लैला–मजनु, रोमियो–जुलियट, राम–सीता सबैको तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ तर राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन ।

८. राधा–कृष्णको वियोग पनि स्वेच्छाको थियो । स्वेच्छाले उनीहरू आ–आफ्नो बाटो लागे, कसैले रोकेन । प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ। ज्यान छुट्टिएर बस्दा पनि नछुट्टिने प्रेम नै महान् प्रेम हो । प्रेमको त्यो दैवीय स्वरुप कृष्णमा नै छ ।

९. प्रेम स्त्री–पुरुष सम्बन्ध मात्रै हैन । प्रेम त्यस्तो विन्दू हो, जसको कुनै लम्बाइ–चौडाइ नाप्न सकिन्न । प्रेम र जीवनको अर्थ अलगअलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु ।

१०. प्रेममा परेर घरबार छाड्ने, विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन् । सच्चा प्रेमी विद्रोही हुन्छ ।

११. समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु । प्रेममा लाञ्छित सबै पात्रमा महान् गुणहरू हुन्छन् ।

१२. समाज बदल्न हिंडेकाहरू समाजलाई नै प्रेम गर्छन् । संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन् ।

१३. प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन्। प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्री चाहिं बलवान र निडर हुन थाल्छे । पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे । प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन् । प्रेम गर्ने अधिकांश महिलाहरूले साहसिक निर्णय गरेका छन् ।

१४. हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो । आफै केही हुन्छ भने त्यो वासना हो । तर प्रेम आफै हुँदैन । प्रेम भनेको व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो ।

१५. प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो छ । तर प्रेमविहीन मान्छे कस्तो हुन्छ, चिन्न सजिलो छ । किनकि क्रोधित, आक्रोशित मान्छे परैबाट चिनिन्छ ।

*

Post a Comment (0)
Previous Post Next Post