अनेसास यूकेले दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लन्डनमा हालै सम्पन्न गरेको छ । नेपाली भाषा तथा संस्कृतिलाई विदेशी भूमिहरूबाट सर्म्बर्द्धन एवम् प्रवर्द्धन गर्ने हेतु आयोजित सो कार्यक्रम तीन दिनसम्म चलेको थियो । सोही तीन दिनको निचोडमा उक्त संस्थाले एक घोषणा-पत्र तयार पारी सार्वजनिक गरेको छ । जसको मुख्य बुँदाहरू निम्न छन्:
१) 'डायस्पोर'’ शब्दलाई नेपाली भाषामा आगन्तुक शब्दको रूपमा शब्दकोशमा भित्र्याउने,
२) नेपाली भाषालाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउने प्रयत्न गर्ने,
३) नेपाली भाषा पठनपाठनको निमित्त स्थानीय निकायसँग सम्बन्ध बढाउने,
४) पूर्वीय सम्यताको संवाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने, आदि ।
बिस्तारै बढ्दै जाने क्रममा रहेको एनआरएनको तात्पर्य बोक्ने नेपाली अहिले विश्वको विभिन्न देशहरूमा कानुनी वा गैरकानुनी रूपमा पच्चीस लाखभन्दा बढी भइसकेका छन् । तीमध्ये ठूलो सङ्ख्याका नेपाली रोजगारीको सिलसिलामा विदेशी-जीवनकोे निश्चित वा अनिश्चित समय बिताइरहेका छन् । वास्तवमा खासगरी पिरलो अवस्थामा तर्कनाहरूले अक्षरहरूको माध्यमबाट आफ्नो वृत्तान्त बताउँछन् र त्यसरी नै साहित्यले सिर्जनशील अवस्थामा प्रवृष्टि प्राप्त गर्छ । त्यसरी छरिएर रहेका नेपालीका सिर्जनशीलतालाई एकमुष्ट बनाई नेपाली साहित्यमा एकप्रकारको टेको दिने प्रयत्नमा लाग्नेहरूको समूह नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो ।
बितेका अवसरमा वा हालपर्यन्त यही परिस्थितिमा पनि विभिन्न देशमा विभिन्न अवस्थामा विविध नामधारी नेपाली साहित्य समाजको उदय भइरहेका छन् र त्यो बढ्ने क्रममा नै छ । त्यसलाई सर्सर्ती यसरी हेर्ने सकिन्छ कि अनेसासको प्रभाव लगभग शून्य अवस्थामा छ, उक्त प्रभाव अत्यन्तै निरीह छ । कतिपय विदेशमा बस्ने उक्त नेपाली साहित्यकार राम्ररी नेपाली भाषा लेख्न पनि जान्दैनन् भने ती र त्यस्ता साहित्यिक मानसिकताबाट कसरी समूलत: मूल नेपाली साहित्यलाई देन प्राप्त होल?
नेपाली साहित्य यदि एक दह भए अनि रचना यदि माछा भए निश्चय नै एक खराब माछाले सारा दहलाई नै प्रदूषित बनाउँछ । कुरालाई जसरी पनि बुझ्न सकिन्छ । नहुनुभन्दा कानो मामा निको भनेझैं शून्य साहित्यिक चहलपहलभन्दा त्यस्तै सिर्जनशीलता पनि उत्तम हो ।
यसपालि लन्डनमा दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्यको सम्मेलन यहाँको स्थानीय नेपाली परिवेशमा खासै चासो देखाउन सक्षम भएन । स्थानीय नेपाली समाजमा स्थापित भइसकेका अन्य नेपाली साहित्य समाज र नेपाली भाषालाई माया गर्नेे तथा आफ्नोतर्फबाट नेपाली साहित्यको सिर्जना गर्नेे नेपालीलाई समेट्नेप्रति विशेष ध्यान लाग्न नसकेको भान भएको छ ।
कार्यक्रम सुरु हुनुभन्दा अगाडि यही कार्यक्रमका लागि भनी नेपाललगायत विभिन्न मुलुकबाट निमन्त्रित व्यक्तित्वको नामको प्रचारप्रसार फेसबुकमार्फत गरियो । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई विशेष गरेर निमन्त्रणा गरिएको सो कार्यक्रमको औचित्य अनि आसय बुझ्न सम्बद्धहरूलाई अप्ठ्यारो परेको हालै थाहा लागेको छ । सिक्किमे मुख्यमन्त्री आखिरमा अनुपस्थित रहेको उक्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा प्रा. गोविन्दराज भट्टराई, प्रा. सुष्मा आचार्य, प्रदीप नेपाल, शर्मिला खड्का, यज्ञ ढकाल, कर्ण थापा, अस्मिता भण्डारी, डम्बर गिरी, कमला ओली, अनेसासका केन्द्रीय उपाध्यक्ष कृष्ण बजगाईं (जो अहिले लन्डनमै बसोबास गर्दछन्), हरिहर अर्याल (फ्रान्स), अनेसासका संस्थापक अध्यक्ष होमनाथ अधिकारी (अमेरिका)का साथमा अनेसासका स्थानीय च्याप्टरका कार्यसमितिका सदस्यहरू जम्मा भएर अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सम्पन्न भएको छ ।
नेपालबाट निम्त्याइएका अतिथिहरूले अहिलेसम्म नेपाली साहित्यमा अनि त्यही अनुपातमा अन्तर्राष्ट्रिय नेपाली साहित्यमा प्रा. गोविन्दराज भट्टराईलाई छाडेर कसैको पनि उल्लेखनीय प्रभाव छैन । सो व्यक्तिहरूका निमन्त्रणा साहित्यिक संस्थाको पूर्ण साहित्यिक निमन्त्रणा नभई व्यक्तिविशेषको व्यक्तिगत प्रभावको निमन्त्रण भएको स्पष्ट लाग्दछ । प्रा. गोविन्दराज भट्टराईको प्रभाव खासगरी नेपाली साहित्यमा प्रवासबाट लेख्ने अनि लेख्न खोज्ने जनजाति मूलका व्यक्तिहरूबीच केही ज्यादा चलेको छ । विगतमा गोविन्दराज भट्टराईबाट, प्रवासमा लेखिएका, त्यस्ता व्यक्तिहरूका अत्यन्तै नित्कृष्ट सिर्जनाहरूउपर व्यापक रूपमा नेपाली मिडियाहरूमा र भेलाहरूमा लेख्ने र बोल्ने क्रम धेरै नै गरेका थिए, त्यसैको फलस्वरूप उनी त्यसरी प्रवासमा बोलाइएका छन् र नुनको सोझो गरेजसरी उनीबाट त्यो भेला अनि समारोह अनि व्यक्तिहरूका बारेमा अन्त्यमा नेपालमा प्रशस्ति गाउने काम भएका हुन्छन् ।
नेपाली मूलधारका बेलायती साहित्यकारहरूको एक लस्करहरूले खासै ध्यान नदिएका लाग्ने यस अनेसास यूकेले आयोजना गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्यको सम्मेलनमा भएका बेमेलहरूप्रतिको स्पष्टीकरण दिन सम्बन्धितहरूलाई बाहिरबाट सुझाइएका छैनन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्यको सो सम्मेलनमा लगभग साठीजना जम्मा भएका थिए, जसमा बेलायती नेपाली साहित्यकारको उपस्थिति अत्यन्तै न्यून थियो । यो अनेसासको प्रभावहीनताको स्पष्ट उदाहरण हो । बेलायती प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्ष राईलाई नेपाली साहित्यसम्बन्धी लेखिएको मन्तव्य सुनाउने मौका पूर्ण रूपमा दिइएको थिएन, त्यो नेपाली साहित्यको सम्मेलनमा अपच्य रहेको लाग्दथ्यो । अध्यक्ष राई स्पष्ट रूपमा नै असन्तुष्ट देखिएका थिए ।
अहिले कार्यक्रमको उप्रान्तमा जसरी अनेसास यूकेले घोषणापत्रको सार्वजनिक जारी गरेको छ, त्यसमा कतिपय बुँदाहरू राजनीतिक बुँदाजस्ता लाग्छन् । डायस्पोरा धेरै पहिलेदेखि नै नेपाली साहित्यमा आगन्तुक शब्दको रूपमा विद्यमान भइसकेको छ । विदेशी शब्दहरूलाई नेपाली भाषाको शब्दभण्डारमा आगन्तुक शब्दको क्याटागोरीमा कुनै एक सङ्घसंस्थाले राखेर प्रवृष्टि दिलाउने होइन, त्यसलाई आमरूपमा नेपाली भाषामा गर्दै गरिएको प्रयोगले दिलाउँछ । त्यसरी प्रयोग गर्नका लागि साहित्यकारहरूलगायत लेखकहरूले आफ्नो कीर्तिहरूमा, लेखहरूमा अनि कविताहरू आदिमा प्रयोग गर्न थालिनुपर्छ ।
नेपाली भाषाको अध्ययन वा अध्यापन गर्नका लागि स्थानीय निकायसँग सम्बन्ध बढाउने वा त्यसरी नेपाली भाषालाई पाठ्यक्रममा घुसाउनका लागि यहाँ अर्कै संस्था धेरै पहिलेदेखि नै कार्यरत छ तर अधिकांश नेपाली अभिभावकले आफ्नै घरमा आफ्ना बालबालिकालाई नेपाली भाषा पढ्न, लेख्न अनि बोल्नका लागि गर्नुपर्नेे प्रयास धेरै नै अगाडि छोडिसकेको स्पष्ट भान हुन्छ । त्यसका लागि ज्यादा दौडधुप नगरी कुनै पनि क्षेत्रमा बस्ने, मात्र केही घरका नेपाली परिवारलाई भेटे, वास्तविकता स्पष्ट हुन्छ, कतिपयले आफ्ना बालबच्चासँग पो उल्टै अङ्ग्रेजी सिकिरहेका हुन्छन् यहाँ ।
अनेसासले वास्तवकै गर्ने सक्ने अनि मुख्य रूपले गर्नुपर्नेचाहिँ अनुवादकको व्यवस्था नै हो । नेपाली भाषालाई वा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नेका लागि अन्तर्राष्ट्रिय भाषाको जरुरत पर्छ । नेपाली भाषामा लेखिएका उत्कृष्ट रचनालाई अनि स्थानीय समाजमा रहेर नेपाली भाषामा लेख्ने नेपाली साहित्यकारका उत्कृष्ट रचनालाई अङ्ग्रेजी भाषामा वा स्थानीय भाषामा रूपान्तर गरेर स्थानीय मूलधारका मिडियाबाट तिनलाई सार्वजनिक गर्नेे चाँजो अनेसास यूकेले मिलाउन सके यो संस्थालाई वा यस्ता पर्यायका संस्थाहरूलाई आफ्नो क्षेत्रलगायत अन्यत्र प्रसिद्धि पाउन केही गाह्रो पर्दैन । संस्थाका व्यक्तिहरू सो कार्यका लागि निजी नभई साझा मनलाई सो कार्यमा लगाउन जरुरी छ ।
नेपाली साहित्यलगायत संस्कृतिलाई पनि समय र परिस्थितिअनुरूप नेपाली राजनीतिले अत्यन्तै प्रभाव पारेको हुन्छ । कुनै पनि पक्ष चिरस्थायी हुँदैन, त्यसमा समयसापेक्ष प्रभाव परेको हुन्छ । नेपाली साहित्यमा भाषाको जति महत्त्व हुन्छ, त्यति नै भाषामा व्याकरणहरूको महत्त्व हुन्छ । बोलेको जसरी लेखिनु नै साहित्य होइन ।
साहित्यमा विविधखाले प्रयोग गरिएका हुन्छन् र त्यसरी गरिने प्रयोगले साहित्यको कोषमा वृद्धि हुँदै जान्छ । नेपाली भाषाको आधार परिवर्तनकारी हुनुहुँदैन । त्यसको निर्धारण गर्ने सक्षमता विविध नामधारी साहित्यिक संस्थाहरूमा पनि हुनु जरुरी छ । यसबारेमा खासगरी भर्खरै सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कुरा उठाइनुपर्दथ्यो, त्यो भएको लाग्दैन । यस सम्मेलनका लागि भनेर झिकाइएका साहित्यकारलाई यूकेलगायत आसपासका देशहरू घुम्ने अत्यन्तै रहर लागेको भन्ने सम्बद्ध व्यक्तिबाट खुल्न आएको छ । सम्बद्धहरूबाट यस विषयमा हाँसो उडाइने गरिएको छ । साहित्यप्रति समर्पित व्यक्ति तथा संस्थाहरूबाट यस किसिमको साँघुरो मानसकिता राखिनु हुँदैनथ्यो कि?
– प्रकाश के.सी., वुडग्रिन, लन्डनबाट