नेपथ्य वरपरको एक दृश्य!

A lonelye man

रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुइँचालोको 'उथलपुथल' आँखाको पानीसँगै 'छताछुल्'’ बनाउँछ र खडेरीले 'चिरा-चिरा' पारेझैँ नियतिका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु । वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव रहन्नन्, रहन्छन् ती लामो-लामो सुस्केराहरु, पर्दाभित्र र बाहिरका अथवा नेपथ्यका अवयवहरु चर्किएर अनि टुक्रिएर कर्ण-कर्णमा अनि भोगिएका जीवनीका पाना-पानामा तीर्ण तथा जीर्ण हुँदै एक तमास अपच्य अभिशापहरु दृष्टिअगाडि सहज बनिदिन्छ अनि असहजपन अनवस्थित नियमितता आफूमा व्याकूल समाहित भएपछि मन फलामझैँ गहु्रँगो हुँदोरहेछ र हरेक दोस्रोपल तल-तल डुब्दै जाँदोरहेछ-यस सागररुपी मानवीय पटलमा ।

'लोक छे हुम्काइ !' (गाडीबाट झर्नु छ कृपया !) ड्राइभर कागजी नजर व्याक-भ्यू मिररमा फाल्दै रोबोटझैँ हात उठाउँछ या 'मैले सुनेँ' भन्ने जनाउँछ । 'साँझ पर्नु र मन उदासिनु'को तादात्यता बत्ती जस्तो उज्यालो देखिन्छ, श्रीमतीको साथ पाउनेको लागि अनौठो ! नयाँ सम्भावनामा सजिएर विहान हुनुलाई साँझ ढल्नुमा अर्को सम्भावनाको अन्त्यको वास्तविकताको तितो आभाष जगाएर आउँछ साँझ सँधै यतिखेर । अँध्यारो मनभित्रका कसहरु अनुहारमा छचल्काएर हाँस्नु पनि के हाँस्नु ?

त्यसपछि शुरु हुन्छ, यावत सँगति-विसँगतिहरु क्रमशः यसरी पट्टाक्षेपभरि । सँधैझैँ उही व्यस्त सडक, सडकभरि गाडीहरुको ताँती, इमर्जेन्सी साइरन, ब्रेकको चिच्याहट, टाफिक क्रसिङको बेसूर आवाज, झोलाभित्रको टिफिन बक्सको झर्कोलाग्दो खालीपन, 'वाक्अवे'भरि जन्डिसलेझैँ खिइएका आकृतिहरु, 'हृवाइटपेपरको मास्क' लगाएर, इलास्टिक ओँठहरुमा टाँसेका मानिसहरुको भेल, एउटा विस्वादका रहर वा असफल प्रयास र उही प्रकीर्ण जिजीविषाहरु !

मोड काट्नै लाग्दा इङ्गल्यान्डका बाब भेटिन्छ, उसले 'The Nepalese communities in Hong Kong' (हङकङभित्रका नेपाली समुदाय) भन्ने किताव लेख्दैछ या नँग्याउँदैछ नेपालीहरुलाई । थोरै अवधिमा ऊ केही बढी मलाई रुचाउने भएको थियो । सायद म ज्यादा सुन्न सक्थेँ या सुनिरहन्थेँ त्यसैले । उसले लगभग मलाई घिसारेर नजिकैको बारमा छिरायो र बियरको अर्डर पनि दिइहाल्यो ।

'You know, I've come to the completion of my book! You never know, how I labored hard for this book! You people look so simple and easy, but very hard to get you through !' (तिमीलाई थाहा छ ? म मेरो कितावको समापनतिर आइपुगेँ । तिमीलाई के थाहा, कति कडा परिश्रम गरेँ यो कितावको लागि मैले ! तिमीहरु सरल देखिन्छौ तर तिमीहरुलाई बुझन धेरै गाह्रो !)

म सिर्फ जिज्ञासा नजर ऊतिर फाल्दै निस्पृहः भावमा वियर पिउन थाल्छु । ऊ, उनीहरुको नजरबाट हङ्गकङ्ग नेपाली समाजमा नेपाल खोज्दैछ र लेख्दैछ त्यसरी नै । ऊ नेपाली हेर्दा सरल भए पनि बुझन गाह्रो भन्ने विशेष तरिकाले अर्थपूर्ण बनाएर भन्छ ।

'...The one thing that surprises me quite often is, Nepalese are very pure, as blank paper. You can write anything you want. They are so pain takers, you can even hook them on the wall, and they keep on hanging all the way. They are so loyal; you can commit any sin front of them. They don't open their eyes before you done' (एउटा कुरा, जसले मलाई सँधै छक्क पार्छ, त्यो हो, नेपालीहरु धेरै चोखो हन्छन्, खालि कागज जस्तो । तिमी त्यहाँ मन लागेको कुरा लेख्न सक्छौ । तिनीहरु यत्ति दुःख, पीर, चोट खप्न सक्ने हुन्छन् कि तिमी तिनीहरुलाई भित्तामा हूकमा झुण्ड्याएर राखे, उनीहरु त्यत्तिकै झुण्डिरहन सक्छन् । तिनीहरु त्यति वफादार छन् कि तिमी कुनै पनि अपराध, कूकृत्य उनीहरुकै अगाडि गर्न सक्छौ, तिनीहरु चुपचाप भइदिन्छन्, वाधा दिँदैनन् ।)

म जुरुक्क उठेँ या यो भनाइले या यसको मतलबले खिँच्यो मलाई बसिरहेको सिटबाट, त्यो अर्कै गहिर्‍याइमा सोच्नुपर्ने हुन्छ । ऊ प्रश्नवाचक तेर्सियो मतिर, मैले उसलाई ट्वाइलेटतर्फ औँल्याएँ र ऊ मुस्कुरायो, आँखाहरु खुम्च्याएर । सौचालयको ठूलो ऐनाअघि उभिएर म, मेरो आकृतिमा, नेपाली खोज्न थालेँ र खोजिरहेँ । एकतमास, ठिँग अगाडि, सामान्य उचाइ, अँध्यारो मुहार, थेप्चे नाक, साना-साना आँखाहरु...! आफूले आफूलाई ऐनामा अपरिचितले हेरेझैँ लाग्यो, भित्तामा झुण्ड्याएर लुगा सुकाएझैँ आफूलाई झुण्ड्याउन पाए एकतमास । यस्तो लाग्छ, ट्वाइलेटका भित्ताभरि-भरि लेवल टाँसेर झुण्ड्याएका हृयाङ्गरभरि नेपालीहरु: लिम्बू, राई, गुरुङ्ग, मगर, क्षेत्री आदि-इत्यादि, 'sale, pain takers, loyal' (बिक्री, चोट झेल्न सक्ने, वफादार) अनौठो ! सोँचाइ, हाँसो-उठ्दो ! अनायासै आँखाहरु खुम्चन्छन् । बाबको र मेरो खुम्च्याइमा भिन्नता देख्छु तर, बुझन भने सक्दिनँ, जति अन्तर्मन्थन गरे पनि ।

'...Hey! You there...!' (हेइ ! तिमी आयौ !) म फेरि अगाडि थचारिन्छु उसको । '...What was I trying to say before is that, it is really very hard to get through you people! Coz, I've been trying to generate some emotions, just to get their feelings, thoughts about the current situations in Nepal, the future of the Nepalese communities in Hong Kong, but no one replies me, not even you, why ?' (म के भन्न खोजिरहेकोथिएँ अघि कि, साँच्चै नै, तिमीहरुको मनभित्र पस्न धेरै गाह्रो ! किनभने, मैले तिनीहरुको मनमा भावुकताहरु पैदा गर्न खोज्दै, नेपालको वर्तमान स्थिति र हङकङमा नेपालीहरुको भविष्यको बारेमा जान्न खोजेको धेरै भयो, तर, कसैले जवाफ दिएन मलाई, तिमीले पनि । किन ?)

एउटा साँध लगाएर राखेको खुकुरीझैँ आफ्नो स्वामित्वहरु र दग्ध रेटाइझैँ अनुभूतिहरु, कसरी व्यक्त्याउन सकिन्छ र ? थोक भाउको हिसावमा नेपालीहरु मर्दैछन्, आफ्नै गाउँघरबाट लखेटिँदैछन्, दुखायतनभरि एम्बुस पारिँदैछन् कपासे जीवनहरु ! अन्तर्देशीय शरणार्थीहरु बढ्दो छ, महँगीले आक्रान्त छन्, फूल फुले जसरी गोली, बारुद अनि बम फलिरहेकाछन्, एउटा कथाशेष बाँचेर जीवनहरु झेल्दैछन् हूकमा टाँगिएर ...बाबले मानेझैँ ।

के नै छ र सुनाउनलाई वास्तवमा ! पुर्खालीको नाम बेचेर जीवन लतार्दै, घिसार्दै हामीहरु त धोबीका कुकुर जस्ता पो भएकाछौँ ! निस्पृहः मनभरि निस्तब्धता छाउँछ र निःसार आँखाहरु भुइँ छुन खोज्छन् बिरक्तीले गिजोलेपछि ।

'...Don't bother yourself, I have found that somehow, Never mind, buddy! Anyway, this book will be published within this week, you gotta read that…ok?' (चिन्तित नबनाऊ आफूलाई, मैले पत्ता लगाएँ आखिरमा । धन्दा नमान, यार ! यसै हप्ताभित्र किताव प्रकाशित हुन्छ, तिमीले पढ्न पर्छ, है ? )

ऊ सान्वना दिन्छ या बच्छ मेरो पराहत उपस्थितिसँग, त्यसपछि केही अरु क्षणहरु यताउता कुराहरुमा ल्याएर बिताएपछि बाहिर निस्किएर निहुरिँदै हात मिलाई लामो-लामो पाइलाहरु चाल्छ कार पार्कतर्फ । म जिँग्रिङ्ग मूक खडा उभिन्छु धेरैबेर त्यहीँ । एक हूल चाइनिज केटाकेटी चिरबिराउँदै बारमा प्रवेश गर्छन् ।

बास बस्ने डेराको सिँढी चढ्दा थाकेर फर्श छुन खोज्छन् जाँगरहरु । भित्ताभरि कोरिएका थरि-थरि भाषाका सायद कविताहरु, कसैका नामहरु, अर्थ्याउन खोज्दा-खोज्दै फेरि लामो सुस्केराहरु निस्कन्छन् र आहत भावले फराकिलो बरण्डामा हेर्छु । एउटा खैरो कुकुर आत्तिएर भाग्छ पछाडिको फ्ल्याटतिर । सँधै यसै गर्छ, सायद डराउँदो हो मेरो असमञ्जस दैनिकीदेखि ।

ढोका खोल्छु । पलँगभरि फ्याँकिएका लुगाहरु, खिज्मिजिएका तन्नाहरु देखेर मन तल सिँढीको भित्ताभरि कोरिएका नबुझिने लेख भइदिन्छ, सम्झनास्वरुप व्यक्ति-व्यक्तिका अव्यक्तपनहरु भित्ताभरिका अक्षरमा जस्तै । बुझ्न खोज्दा, पढ्न खोज्दा, आफ्नै मन नै खिज्मिजिएको तन्ना जस्तै लथालिँग फैलिन्छ पलँगको फैलावटभरि जहाँ प्रणय फुल्ने गर्थ्यो कुनै अर्कौ पहिले-पहिलेका समयमा ! तर, टिफिनभित्रको खालीपनझैँ झर्कोलाग्दो सोँचाइलाई पन्छाएँदै झोलाबाट खाली टिफिन-बक्स निकाल्न थाल्छु ।

हाम्रो अझै दुईबाट तीन या बढी नभएको सिर्फ दुईको बसाइ यो सानो फ्ल्याट यस्तो लाग्छ, एउटा समूहको बासस्थान हो । सबचीज तितरबितर, छरपस्ट, जिन्दगीका सपनाहरुझैँ ! सपनाका थाँक्रामा झयाँगिएका रहरहरु सढ्दै-कुहिँदै लगातार खस्छन् सम्हाल्न नै नसकिने गरी मनका समतलभरि अनि त्यसै नै मन अमिलिएर आउँछ आँत नै रसाउने गरी । मनको अनि कोठाको चीसोपनाले छोएपछि जीवन नै जस्तो ढुसी पर्छ, वाक्वाकी लाग्छ । अचानक फोनको घण्टी बज्छ, मेरा समस्त सचेतनाहरु र एकाग्रतालाई झक्झकाउँदै ।

'हेल्लो !'

'के छ ?' सोधिन्छ । के छ र भन्नुलाई मुख्यतः, तर, भन्ने नै भए एउटा लामो फेहरिस्त तयार हुन्छ जसलाई सुन्नलाई नविन सायदै तयार होला ! मुठीभरिको बालुवाझैँ प्राप्तीहरु, र क्षणमा नै रित्तो ऐन्टेनाबिनाको टीभी प्रोग्राम जस्तो खाली तर भरिपूर्ण, सबथोक तर मिथ्या ...!

'बाहिर निस्कौँ न!,' प्रस्ताव राखिन्छ ।

कोठाभित्रको शून्यपन र खालीपनहरुले सताउने गर्छ जब यसरी भित्रिन्छु हिजो-आज । दाँया-वाँयाका भित्ताहरु सर्दै-सर्दै वा साँगुरिँदै आएझैँ निस्सासिन्छु । एकतमास नीरव चकमन्नताले मुटुको कतै कुनामा सिट्ठी लगाएको भान पार्छ अक्सर । ऊ अलि अवेर नै र्फकने गर्छे हिजो-आज, त्यसैले लुगा नफेरी बाहिरिएँ । बरण्डाबाट त्यो कुकुर फेरि भाग्छ ।

बाहिर उस्तै कोलाहल ! सबैलाई हतार र नविन एकतमास खडा ठीक गेटअगाडि ! उसको उभ्याइ र ल्याम्प पोस्टको पिलर एकैझैँ देखिन्छ, फरक सायद लम्बाइ मात्र । ऊ तन्काउँछ ओँठ र देखाउँछ दाँतका केही पँक्तिहरु । ऊ सायद औपचारिकता निभाउन खोज्छ या लाचारी व्यक्त्याउँछ आफ्नो तथानाम अस्तित्वको । ऊ पाइला बढाउन थाल्छ र मेरा उसँग तारतम्य भइदिन्छन् ।

'मानिस सामाजिक प्राणी हो र त समाजमा बस्न रुचाउँछ । त्यसमाथि हामी परदेशमा छौँ, एउटा आफ्नै भीडमा उपस्थित हुनुपर्छ । एकता भन्ने नै यही हो, कहिले, कसरी, को काम लाग्छ, तिमीले अनुमान गर्न सक्दैनौ । त्यसैले, हामी त्यो नेपालीको दोकानमा जाँदैछौँ' ।

ऊ धेरै कुरा गर्छ, एकेबद्धताको परिभाषा दिन्छ, कुनै एउटा सानो दल वा सँघ-सँस्थासँग सायद सम्बन्धित पनि छ, म त पछ्याइरहन्छु चुपचाप ।

'सायद आउने आइतबार साथीहरु भेला पारेर पिकनिक जानुपर्छ होला श्रीमतीसँगै' ।

ऊ आफ्नै पारामा प्रस्ताव राख्छ, तर सहमति भने चाहँदैन । मेरो जम्मामा भने सीमलको भुवा भएर हात नै नपर्ने एक गुच्छा रहरहरु शून्य बनेर रहृयो, फगत कामनाको नाममा र सुस्तरी हिँड्दा-हिँड्दै एउटा 'आह!' निस्कन्छ, भित्र कतै दुखे जस्तै ।

एकैक्षणपछि हामी नेपालीको पसलमा पुग्छौँ । त्यहाँ केही साथीहरु पनि जमिसकेका हुन्छन् । त्यसपछि शुरु हुन्छ एउटा साह्रै पट्यार लाग्दो ! उदेक लाग्दो ! सस्तो वादविवाद, चुरोट, खैनी तथा बियरको साथसाथै । नेपालीको पसल, इण्डियन सामानहरुले खचाखच हुन्छ । मानिसहरु नेपाली पत्रिका पढ्छन् अनि टिका-टिप्पणी शुरु गर्छन् । नेपालको राजनीति, स्थितिका बारे गाली गर्छन्, सराप्छन् नेताहरुलाई र समाधान पत्ता लगाउँछन् । देशको उन्नत्तिको लागि भएको भए, यस्तो गरेर यस्तो गर्थेँ, या गर्न पथ्र्यो अनि यसो हुन्थ्यो आदि इत्यादि । राष्ट्रियताका कुराहरुको साथ उनीहरु घरि-घरि मतिर लक्षित हुन्थे र मेरो चुपचापपनको लागि फेरि अर्को अट्टहास लगाउँथे । म उनीहरुको क्रिडनीय भएर क्लान्त हुन्थेँ र बेला-बेलामा अगाडिको सडक र ती गाडीहरुको घुँइचो हेर्न थाल्थेँ ।

एउटी बूढी ठेलगाडीभरि कागज, क्यानहरु थुपारेर घस्रिरहन्छे या घिसारिइरहन्छे, मर्न नसक्नुको वाध्यता या जीवनको मोह! क्यान जस्तै कुच्चिएका, कागज जस्तै जताततै कोरिएका उसको मुखाकृति, पानी सुकेका आँखाहरु र ढल्मलमएको चाल...! आमा हुनसक्छे ऊ, कसैको, हजुरआमा हुनसक्छे ऊ । एउटा खाली रहर वैँशमा नै तताएर, वाफ भई जम्दै खसेका थोपा हुँदै सडक भएकीछे कालान्तरमा या यस्तै नै देखिन्छे । बराबरमा, थिचिएकीछे या थिचारिएकीछे ...कुरा एउटै ।

कालो आभास, अँध्यारो आभा, झल्मलाएको दीप्त शहर, शून्य अनुभूति, व्यापक कोलाहल, प्रखर हतार ! यसरी एक्लो वापसी त्यही चीसो कोठातिर जहाँ मन भित्ता बन्दै साँगुरिँदै गर्छ-आफैलाई थिच्न बारम्बार ।

कति सजिलो हुन्थ्यो यदि आफैले आफ्नो मृत्यूको दिन रोज्न सकिने भए...। कसैलाई पल-पलको मोह, कसैलाई पल कटाउनै मुस्किल ! कति लतार्नु ? कहाँसम्म घिसार्नु ? जीवनमा परेका चिराहरु, प्वालहरु आदि यति धेरै टालिन्छन् भने त्यहाँ कति नै हुन्छन् र अरु गुन्जायसहरु ! फेरि मरेर फेरि बाँचे मात्रै सच्याउन सकिने गल्तीहरु छन् भने जब ।

ढोका खोलिन्छ, बिना सूचना र उसको ठिँग आकृतिको हठात् प्रवेश हुन्छ । गर्मी याममा नै पोल्न खोज्ने चीसो बतास जसरी ऊ उभिन्छे मेरोअगाडि, खुशी-बेखुशी, माया-घृणाको बीच विन्दूमा उसका आँखाहरु मतिर ट्वाक्क पार्दै आफ्नै सूरमा हतारिन्छे...!

'अहिलेसम्म केही गर्‍या छैन? हत्तेरी! मलाई बाहिर जानुछ, हतार भैसक्यो भन्या । ल! छिटो-छिटो गर्न पर्‍यो, अनि मलाई भरे अबेर पनि हुन्छ, फेरि सानो अनुहार गरेर कुरी बस्नु पर्दैन' ।

उसलाई केही खाजा बनाउनुछ मैले । उसको कुनै समाजको कार्यक्रमको व्यवस्थापनमा छे भन्ने कतैबाट सुनेको थिएँ, ऊ बताइराख्न पनि जरुरी सम्झिन्नथिई । केही भन्नथाले यो हङ्गकङ्ग हो, नेपाल होइन भन्दथिई, र त म, मेरा धेरै जसो रातहरु भित्ता जसरी तटस्थ भई हङकङ बाँच्थेँ । म किचनमा छिर्छु । ऊ हतारिँदै लुगा फेर्न थाल्छे । म किचनको ढोकाबाट सुस्तरी चियाएर हेर्छु, ऊ एकपछि अर्को गर्दै खाली हुन्छे र क्रमशः एकपछि अर्को हाल्दै भरिँदै जान्छे । धेरै महिनापछि ऊ मेरोअघि पूरै आदिम भइदिएकी थिई अनि त्यसको लगत्तै आधुनिक पनि, तर, मेरा सचेतनाभरि एउटा बस्तुमा खोल फेरिएझैँ अनुभूति मात्रै जगाउँछ, या गुडियामा शो-पिसको नयाँ लुगा ।

टु मिनेट नुडल्स तयार पार्न लगभग आधा घण्टा लाग्छ, तब पनि ऊ ऐनाअघिबाट हटेकी हुँदिन । म झ्यालबाहिर पर-परसम्मन् टोलाउन थाल्छु । झ्यालको खोँचबाट परको बिल्डिङको वाँयातर्फको केही आकाश देखिन्छ समस्त अँध्यारो, मात्र खाली । तल गाडीहरु घुँइकिइरहन्छन्, साइरनहरु बजिरहन्छन् एकपछि अर्को । परको सेभेनइलेभेन सपअगाडिका एक हूल पाकिस्तानीहरुका आवाज, नसुनिने हल्लाहरु ! दाँयातर्फको पेटीमा एकजोडी चाइनिज आलिँगनबद्ध, प्रतीक्षामा सायद….प्रेमको विनिमयको ! अगाडिको विल्डिङको नवौँ तलाको ठीक सामुन्नेको फुटेको झ्यालको सीसा, धमिलो पर्दा, झ्यालबाहिर हृयाँगरमा झुण्ड्याएको केही जोडी लुगाहरु, पीडाले गलेर 'निथ्रुक्क' भिजेको मनलाई मान्छेसँगै निचोडेर त्यसरी हृयाँगरमा सुकाउन मिल्ने भए ! यस्तो लाग्छ, आफूलाई त्यसरी नै हृयाँगरमा त्यहीँ झुण्ड्याए जस्तै । आँखाहरु खुम्चन्छन् मेरा र लाग्छ कतैभित्र एउटा मीठो शकून छाए जस्तै । धेरै-धेरैबेर यसरी नै टोहृलाइरहन्छु म झ्यालबाहिर ।

Stray dog in Hong Kong

अचानक ढोका खोलिन्छ र 'ढ्याम्म' पनि बन्द हुन्छ । ऊ 'नुडल्स' खाएर 'जान्छु' भन्न जरुरी नसम्झी त्यतिकै गई पनि सकिछे, थाहा नै भएन । त्यसपछि लामो शून्यता….एउटा यस्तो खालीपन, जहाँ यावत्का सबै कृयाकलापहरु बन्द भएझैँ, या क्यासेट प्लेयर 'पज्' गरे जस्तै, सोँचाइका बालुवाको त्यस्तो घर, जो भत्किईँदै गर्छ र फेरि बनाइरहनुपर्छ । सानो टेबुल, जुठो प्लेटहरु र एउटा गहन उदासी, तकियाको 'Forget Me Not' लेखिएको खोल, जिवन्तझैँ तर मृत प्रायः अनुभूति, ठिँग आफ्नो आकृति, भित्ताभरिको क्यालेण्डरका कोरिएका तारिखहरु, अगाडि एउटा अर्को रात, अनि लामो-लामो सुस्केराहरु जो वाँध भत्किएझैँ फुत्किरहन्छन् । कुकुरको खेलौनाको गुच्चे आँखा र यसबाट देखिने स्थीर जीवन, एकोहोरो, एकतमास घडीको टकटक, मुटुको धकधक, सिर्फ जीवन बाँचिरहेको र समय काटिरहेको आभास, लामो सुस्केराहरु बाँध भत्किएझैँ फुत्किरहन्छन् ।

बाहिर बरण्डामा निस्कन्छु । बरण्डाको पर, अगाडिको सानो पहाड निश्चल सुतिरहेझैँ लाग्छ । थचक्क घुँडा टेकेर बस्छु । जिन्दगीमा आज नै सबैभन्दा एक्लो महशुस गरेकोछु । बाहिर निस्कन मन लाग्छ । साथीहरुको मनोरन्जनको साधन बन्न मन लाग्छ । बाबलाई भेट्न मन लाग्छ । उसले नेपालीलाई बुझेको सुन्न मन लाग्छ दोहोर्‍याएर । चाइनिज बूढीको क्यान जस्तै कुच्चिएर, कागज जस्तै कोरिएर, लतारिएर घस्रिइन मन लाग्छ, तर त्यो पनि गर्न सक्दिनँ । फगत एकतमास त्यहीँ बसिरहन्छु, टोलाइरहन्छु । अचानक, पछाडितर्फबाट त्यो सानो खैरो कुकुर चिहृयाउँछ, हेरिरहन्छ र फेरि नजिक आउँछ अनि तुरुन्तै भाग्छ ।

मेरो मनमा अनौठो किसिमले उत्साहहरु फैलिन्छन् र पर्खन्छु, त्यो तुरुन्तै र्फकन्छ र धेरै नजिक आउँछ । म मुस्कुराएर हेर्छु त्यसलाई, त्यसले पुच्छर हल्लाउँछ, अलि लाडे बन्छ, म अझ धेरै खुलेर मुस्कुराउँछु र हात हल्लाउँछु । तब त्यो नजिक आएर लाडिन्छ अनि म मनको फेँदबाट नै रमाउनथाल्छु, र बिस्तारै-बिस्तारै त्यसको टाउको मुसार्न थाल्छु । धेरै-धेरैबेर म र उक्त खैरो कुकुर एक-अर्काको सान्निध्यमा पर्याप्त रमाउनथाल्छौँ । रमाइलो साथ लाग्छ अचानक तुरुप हात लागे जसरी । रमाइलोले जगाएको खुशीलाई पूर्णतः सोहोरेर त्यसलाई पूरै दाउमा थाप्छु - उक्त कुकुरलाई काखमा राखी मुसार्छु, त्यसले बर्षौंपछिझैँ वात्सल्य महशुस गर्छ, या त्यसले पनि आफनो हिसाबको दाउ जित्छ ।

खुशीहरुले उचालिएकोछु, परको जँगलबीचबाट झिल्मिलाउँदै गाडीहरु गुडिरहेकाछन् । झिलमिल-झिलमिल रहरहरु शून्यकाशमा झिल्मिलाउँदैछन् लहरै र म 'लहरै-लहर' रमाइलोको थुम्का मनभित्र सजाउँदै त्यो खैरो कुकुरलाई काखमा राखेर सुम्सुम्याउँदैछ... एक झोँक्का हावा मनलाई सुम्सुम्याउँदै पस्छ भित्र... शीतल !

अब भने बाँध भत्के जसरी सुस्केराहरु फुत्किन्नन् जो अक्सर मुटुलाई नै सोहोरेर लैजाला जसरी पीँधबाट जान्थ्यो अनवरत । एउटा वहाना न हो ! अन्यथा घस्रिँदै-घिस्रिँदै पनि जीवन त चली नै हाल्छ, समय जो गतिवान छ । आँखा बन्द गर्छु, उघार्छु, त्यसको लगत्तै चिम्लिन्छु । लगातार आडिलो साथ महशुस गरिरहन्छु अनि बरण्डाको एक कुनामा अडेसिएर कुकुरलाई मुसार्दै त्योसँग खेल्दै व्यस्त हुन्छु निन्द्राले नथकाउन्जेल त्यसपछि ।

*

Post a Comment (0)
Previous Post Next Post