मन्त्री आउँदा मात्रै चाकडीको चस्को!

Nepali movement

कालखण्ड अर्थात् समयको भागलाई विभाजित गर्ने समयरेखा, शब्दहरूको मीठो खेल । २००७ साल फागुन ०७ गतेले शताब्दीऔँ राणाशासनको कालपछिको अर्को प्रजातान्त्रिक काललाई छुट्यायो अर्थात् नयाँ नेपालको प्रादुर्भाव भयो । २०१७ सालपछि अर्को शासन अर्थात् पञ्चायती व्यवस्था लागू भयो तर उही फागुन ०७ को रीति भने यथावत् नै रह्यो । त्यसपछिका अनेकौँ फागुन ०७ हरू गए, लहरका लहर जनता प्रजातन्त्र दिवस मनाउँदै गए, ती मनाइएका दिवसहरूमा अब कति जनताका रहरहरू एकबद्ध भए, कसले राख्यो र लागत?

तर त्यसको धेरै समयपछि हाम्रा पुस्ताहरूले भने फागुन ०७ लाई रहरका साथै लगातार मनाएका भने हौँ । एघार वर्षको हिंसात्मक स्वरूपमा परिवर्तन आएको भनिएको छ, यही मङ्सिर ०५ को शान्तिसम्झौताबाट नेपालमा र यो दिनलाई नै मुख्य अर्थमा नेपालको इतिहासको कालखण्ड बनाइने पक्का छ । देशभरि खुसियाली मनाएको बताइएको छ, यहाँ पनि नेपाली जनसर्म्पर्क समिति हङकङले टोस्ट गर्दै खुसियाली मनायो, देशभरि हर्षोल्लास गरिएको भनाइएको छ, जीवनभरि नदेखिएका अनि नसुनिएका व्यक्तिहरू जल्दोबल्दो नामसहित र्सार्वजनिक भएका छन्, सबैको अनुहार झलमल्ल भएको भनिएको छ, र यहीबेला तराईका पाँच जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी र बारा पूर्णतया बन्द रहेको पनि साथसाथै बताइएको छ । मधेशीहरूमा एउटा असन्तोषको वीजारोपण गराइसकेको छ, कालान्तरमा माओवादी नबन्लान्, सोच्न गाह्रो छ, जसलाई सीमापारिकाहरूको यथेष्ट सहयोग पुग्ने प्रवल सम्भावना सधैं रहनेछ । बेलैमा त्यस समस्याको सम्बोधन नभए नेपालले लस्करैसँग अनेकौँ कालखण्डहरू देख्न पर्नेछ ।

देशका लागि जनताको बलिदान व्यर्थ नजाने वा शहीदहरूको प्रभावपूर्ण त्यागले देशलाई निरङ्कुशताबाट मुक्ति दिलाएको आदि-इत्यादिका वाक्यहरूलाई भाषणमा गाभ्दै हजारौँ बेरोजगारहरू थुप्रिएको स्थानबाट चर्को तालीहरूका गडगडाहट बटुल्ने ती महान् नेताहरूले ती परिवारहरू, ती व्यक्तिहरू वा ती समाजहरू जसले आफन्तहरू गुमाए, जसले बलिदान गरे, जसले विध्वंसको कुरूप स्थितिलाई देशका लागि गरिएको त्याग सम्झँदै हेरे, सँगै कहिले उनीहरूका भित्री मन छाम्ने प्रयत्न गरेका छन्?

माओले अन्य साधारण सिपाहीसरह आफ्नो छोरोको बलिदान गरेका थिए, जंगल पसी भूमिगत आन्दोलन गर्नेहरू वा सडकआन्दोलन गर्ने नेताहरूले त्यस्ता त्याग गरेको कतै याद भने खासमा नभएको नेपालको अनुभव छ । चिल्ला अनि ड्याम्म कदका नेताहरू शब्दले शहीदका परिवारको अथाह क्षतिको भर्पाइ या पूर्ति गरिरहेका छन् ।

काभ्रेको गाउँको एउटा मूलबाटोमा शिर छिनाएर मारिएकी एउटी मगर थरकी युवतीको लाशलाई उठाउन नदिई त्यहीँ सढ्न छाडिदिने माओवादीहरूका त्यस्ता कुकृत्यलाई अनि खानपिउन नदिई, र सबैका सामु गर्भवती महिलालाई सामूहिक बलात्कार गरेपछि मार्ने सिपाहीहरूका त्यस्ता कुकृत्यलाई र ती आत्माहरूका परिवारहरूमाथि परेको असह्य पीडाहरूलाई सारा देशको हर्षोल्लासले कति चिढाएका होलान्? नरसंहार गर्ने-गराउनेहरूलाई समान सजाय हुनुपर्छ । बाँच्न पाउने आधारभूत अधिकार खोस्नेहरूलाई कारबाही गरिनुपर्छ । पहिलेको मल्लिक आयोगको निचोडमा हाँस्नेहरूले अहिलेको बदलिँदो परिस्थितिको मध्यनजर गर्दै राजा ज्ञानेन्द्रले पनि सजाय पाउनुपर्छ भन्दै रायमाझी आयोगमार्फत दबाब सिर्जना गर्दैछन् ।

स्व. राजा वीरेन्द्रले २०४८ सालको जनआन्दोलनमा गरिएका अत्याचारहरूको सम्पूर्ण जिम्मेदारी लिएर 'अन्यले आफ्ना लागि काम गरेको भएकाले उनीहरूलाई केही नगर्न' भनेका थिए । किन नभन्नु त? श्री ५ लाई कानुनले नछुने कानुन विद्यमान भएको बेला जस्तोसुकै जिम्मेदारी लिए पनि भइहाल्यो तर राजा ज्ञानेन्द्रको हकमा भने त्यस्तो नहुने कानुनी ज्ञाताहरूको राय रहेको छ । राजा ज्ञानेन्द्र त राजा नभई मन्त्रिपरिषद्का अध्यक्ष थिए त्यतिखेर र त्यस अध्यक्षलाई कानुनी सजाय गर्ने पूर्ण अधिकार नेपाल सरकारको रहेको जनाएको छ ।

हो, सजाय पाउनुपर्छ, तर सजाय सबैलाई समान किसिमले दिलाइनुपर्छ । शासकहरूलाई आफ्नो शासन बचाउने अधिकार हुन्छ, र त्यसका लागि प्रयोग गरिने बल पनि एक किसिमले जायज हुन्छ, मुर्सरफको हत्या गर्न असफल हुनेहरूलाई वा त्यस हत्या प्रकरणलाई दबाउनका लागि कतियौँ मारिए, अनि फेरि केहीलाई पछि मृत्युदण्ड दिइएको र त्यसलाई जायज मानियो, केनेडीको प्रकरणमा पनि त्यही भयो । कुनै 'तन्त्र'को प्राप्तिका लागि या रक्षाका लागि गर्ने-गरिने हिंसात्मक गतिविधिहरूलाई 'जायज' मान्ने भए, 'प्रजातन्त्र'को प्राप्तिका लागि, 'राजतन्त्र'को रक्षाका लागि, वा 'मिलिटि्तन्त्र'को रक्षाका लागि गरिने सबै दण्ड वा कारबाहीहरू जायज भएको हुने भए, यो मल्लिक, रायमाझी आयोगहरूको औचित्य के?

२०४८ सालको प्रजातन्त्रको उदयपछि वास्तवमा नेपालीत्वको विलय हुँदै भने गएको हो । भारतीय अभिनेत्रीले 'नेपाल, भारतको एउटा अङ्ग हो' भन्नुमा आन्दोलन तथा तोडफोड गर्ने, अर्का अभिनेताको भनाइमा आगो लगाउने प्रवृति बोक्ने हजारौँ 'हाइपोक्राइस्ट सच्चा नेपालीहरू वा राष्ट्रवादीहरू'का लागि जति नै हाँसे पनि कम हुन्छ । 'एयरपोर्टबाट पस्नासाथ नेपाल होइन भारतको कुनै कुनामा पुगेको महसुस' यहाँबाट गएको एउटा मलेसियाली इन्डियनले हिजो बताउँदा म चुप थिएँ । के छ त्यसरी गर्व गर्नुपर्ने?

गाडी, ट्याक्सी, सडक, घर, रेडियो, टेलिभिजन, वाकम्यान, एफएमहरू जताततै भारतीय गीत बजिरहेको हुन्छन्, सिनेमा चलिरहेको हुन्छ, विज्ञापन आइरहेको हुन्छ, नेताहरू पनि आफ्नो भारतीय भाषाको मोह उक्त भाषाको प्रयोग इन्टरभ्यूमा गरेर व्यक्त्याउँछन्, काठमाडौं खाल्टो जति नै जे भने पनि भारतीय साहूहरू जो आफूलाई कानुनतः नेपाली अझ 'पक्का नेपाली हुँ' भन्छन्, हरूले चलाइरहेका छन्, तिनका घरमा 'जयरामजी' गर्न पुग्ने नेपाली नेताहरूलाई हेरे पुग्छ ।

उहिले ब्रिटिससँग स्वतन्त्रताको लडाइँमा भारतलाई नेपाली जनताले सघाएका थिए भनेर किन उनीहरूको मन छुन खोज्ने? भारतपरस्त नेताहरूले सुम्पिने राष्ट्रियताले नै दिनप्रतिदिन खसाल्दै लगेको छ । पञ्चायती कालमा नेपाललाई विशिष्ट देख्ने पाकिस्तानी साथीहरू अहिले 'नेपाल भनेको यूपीनजिकको अर्को प्रान्त हो' भन्न सक्ने भएका छन् । यो त्यही प्रजातन्त्रको उदयपछि भारतका लागि गरिएको खुल्ला व्यापार नीतिको परिणाम हो ।

बोलिभियाको राष्ट्रपति इभो मोरालेजजस्ता प्रखर युवा अनि प्रखर राजनीतिक इच्छाशक्ति राख्ने र अति र्समर्पण तथा त्यागको भावना बोक्ने जननेताहरू अथवा, मरिचमानजस्ता पक्का राष्ट्रवादी नेताहरू नेपालले खोज्नुपर्ने भएको छ, नत्र 'भारत महान् भन्दै जप्न थाले हुन्छ' ।

सूचना तथा सञ्चारमन्त्री बडू आएका मौकामा स्थानीय एभरेष्ट साप्ताहिकका सम्पादक किसन राइले राखेको मन्तव्य निक्कै नै सान्दर्भिक लागेको छ । 'नेपाली नागरिकताको प्रमाणपत्र बोक्नेहरूलाई मात्र नेपाली मानिने सोच'मा परिवर्तन ल्याउन जरुरी छ भन्ने उनको भनाइ कति सान्दर्भिक छ भने नेपाल सरकारका तर्फबाट हङकङेली नेपालीहरूलाई हेरिने हेराइमा भाव नभएको सबैले बुझेका छन् र पनि हरेक मन्त्रीहरू आउँदा, नेताहरू आउँदा, तिनीहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्दै फूलमालाहरू चढाइ अनि आप्रवासी समस्याहरूको पोको चढाउने गरिएकोमा सान्त्वनाका हरफहरूबाहेक वा आश्वासनका केही वाक्यहरूबाहेक प्रतिफल केही नरहेको सबैको गुनासो छ तापनि फेरि अर्का तथा अन्यहरू आउँदा उसैगरी एकत्रित भई उसैगरी लस्करैका समस्याहरूका पोका भने चढाउन बिर्सन्नन्, उही पुरानै शैलीका आश्वासनका हरफहरूका बदलामा हङ्कङेली नेपालीहरू ।

हजारौँका सङ्ख्यामा नेपालमा स्थायी बसोबास गर्दै आएका हजारौँ-हजारौँका ती व्यापारीहरूले नेपाली नागरिकताको प्रमाणपत्रलाई तिनीहरूका मनभरि सही-सलामत किसिमले बसेको तिनीहरूका देशको मायाले फिका बनाइदिन्छ । हजारौँका सङ्ख्याका भारतीय व्यापारीहरूलाई हेरे हुन्छ।

हङकङ बसाइलाई एउटा सुविधाका रूपमा हेरेका कैयौँ-कैयौँ नेपालीहरूका सम्पूर्ण भनेको 'नेपाल' रहेको तथ्य ज्यादा खोजिरहनु भने पर्दैन । त्यसैले स्थानीय नेपालीका चासो सबै नेपाल वा नेपाली राजनीति रहेको हो ।

राष्ट्रियता कागजका लाइनमा कोरिएको हुँदैन । ब्रिटिस भइसकेको हजारौँ ती मुसलमानहरूले गर्ने गरेको हत्या वा आतङ्क वा संघर्ष जे भने पनि ब्रिटेनकाहरूका लागि होइन, तिनीहरूका आफ्नै मातृभूमि तथा देश वा त्यहाँ जनताका लागि हो भन्ने कुरा भन्नुपर्दैन । त्यसैले 'नेपालका चाहिँ नेपाली अन्यका चाहिँ अनेपाली बुझिनु चित्तदुख्दो रहेको हो ।'

Nepali body guards in Hong Kong

शान्ति र सुरक्षामा विश्वप्रसिद्ध हङकङमा नेपाली धनी व्यापारीहरूलाई आन्तरिक सुरक्षाको खाँचो रहेको पाइएको छ । र, तिनीहरूलाई प्रश्रय वा सुरक्षा दिइरहेका छन् लोकल नेपाली गुण्डाहरूले, भनिएको छ । त्यसैले त ती व्यापारीहरू आफूलाई शक्तिशाली ठानिरहेका छन् । लगभग वर्षदिनअगाडि स्थानीय एउटा नेपाली रेष्टुरेन्टमा, एउटा नेपालीलाई त्यसरी पालिएको गुण्डाहरू लगाएर रेष्टुरेन्टबाहिर ल्याई रगताम्मे पारेर पिटेको दृश्य चाइनिज पत्रपत्रिकाहरूमा पनि देखिएको थियो । राम्रो काम नगरे किन चाहिन्छ र गुण्डाहरूका साथ? त्यसैले ती रेष्टुरेन्टहरू अनि ती व्यापारीहरू नै गलत होलान्, ज्यादा सोच्नुपर्दैन ।

गोर्खे र गोठालेपनबाट मुक्त नभएकाहरू जति कमाए पनि इज्जतदार हुन नसकेको यसैबाट थाहा लाग्छ । 'स्पष्ट तथा निडर भई लेख्नेहरूलाई धम्क्याउने बहाना नछोड्नु पनि त्यही ढोकेनीति हो' ...म भन्छु । कुनै व्यापारी बताउँछन्... 'कार्यक्रमहरूको प्रायोजन गर्न भनेर थरीथरीका आयोजकहरू आउँछन्, कार्यक्रमको टिकट भिडाउन भनेर अनेकौँ स्वयम्सेवकहरू आउँछन्, आफ्नो इच्छा भन्ने आफ्नो मनभित्रै राखेर सहयोग गर्नुपर्छ, त्यो पनि त्यही हप्ता असुल्ने नीतिसँगै मिलेको ठानिँदैन र?' ...जवाफ उनैलाई अनि सबैलाई थाहै भएको हो ।

हङकङभित्र रहेर पनि एक प्रकारको अलग संसारमा रमाउनेहरू मूलधारबाट पृथक रहेका छन्, आफ्नो वर्चश्वको आफ्नै संसारमा रमेको मानसिकताको ज्वलन्त उदाहरण हो यो । यो सोचलाई त्याग्नु जरुरी भएको ती व्यक्तिहरू ठान्छन् जो ससानो आयलाई सङ्गालेर व्यापार गर्ने सोच पाल्दैछन् । किनकि पैसाले नै इज्जतदार भनिने जमाना गएको छ ।

- प्रकाश के.सी. / हङकङ

*

Post a Comment (0)
Previous Post Next Post