मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता - ३

A love traingle

गत २००९-१० मा नेपाल राष्ट्र बैंकले निकालेको एक तथ्याङ्कअनुसार विदेशबाट लगभग सर्त्ताईस लाख सङ्ख्यामा रहेका नेपालीले आफ्ना परिवारहरूलाई २३१.७३ विलियन नेपाली रुपैयाँ पठाएका थिए र त्यो क्रम झन् बढ्दो छ । गत साल अर्थमन्त्री भरतमोहन अधिकारीले ३८४.९० विलियन नेपाली रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । नेपाल सरकारले करबापत असुल गरेको रकमले उक्त बजेटमा ६३ प्रतिशतले आफ्नो स्थान ओगटेको थियो भनिएको छ । विदेशी अनुदान १८ प्रतिशत, विदेशी ऋण ६ प्रतिशतसहित आन्तरिक स्रोतबाट उठाइएको ऋण १० प्रतिशत पनि सोहीभित्र परेको भनिएको सो बजेटमा रेमिट्यान्सको भाग कति थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अहिलेको परिवेशमा कैयन विदेशी मुलुकमा श्रमशक्तिको रूपमा आफ्ना नागरिक उपलब्ध गराउने मुलुकमध्ये नेपाल मुख्य देशको लहरमा पर्न आएको छ । तब पनि नेपालमा सो विषयमा सही र प्रभावकारी नीतिको तर्जुमा गरिएको छैन । दूतावासको अभावमा अनि सशक्त नियमको अभावमा लाखौँ नेपाली विदेशीभूमिमा शोषित भइरहेको अवस्था एकातिर छ भने इन्टेलेक्च्युअल प्रपर्टर्ीीानेर अवसर प्रदान गरिनुपर्ने ल्याकतमा रहेका अन्य हजारौँ-हजार विदेशी भूमिमा हराउन पुगेका छन् । त्यसले नेपालको समूल विकासमा कत्तिको नोक्सानी गरेको छ भनेर गम्भीरताका साथ खोजबिन पनि गरिएको छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइने नेपाली श्रमहरूको सही व्यवस्थापन हुनुपर्ने र त्यसलाई आधिकारिक रूपमा सरकारीस्तरबाट अवलोकन गर्नुपर्ने आवश्यकतालाई आफ्नो सरकारले गम्भीरताका साथ लिएको बताए तापनि आजसम्म सोसम्बन्धी कुनै ठोस कदम चालिएको छैन ।

कुनै पनि होनहार नेपालीको मुलुकबाट हुने पलायनतालाई सङ्ख्याको हिसाबबाट हेरिनुहुँदैन । त्यसले र त्यसको लहरले कालान्तरमा पर्ने राष्ट्रिय नोक्सानीको महत्त्वउपर सरकार सम्वेदनशील हुनुपर्छ । राघवजस्ता योग्य व्यक्तित्वको पलायन सङ्क्रामक हालतमा रहेको मुलुकबाट हुँदै जाने हो भने, ६०१ जनाजस्ता बाहुबल या यस्तैयस्तै अनेक तिकडम जालझेल र कुटिलताका आधारमा सदनमा भित्रिएका नीतिनिर्माताहरूबाट बन्ने नीतिनियमहरूले देशको भविष्य कस्तो देखिएला भनेर आरामैसँग कल्पना गर्न सकिन्छ । त्यही ६०१ जनाको लहरबाट उठेर मन्त्रीसम्म बनाइएका व्यक्तिबाट आठ सयवटा जिल्लाको परिकल्पना गरिनु पनि उही ६०१ उब्जनीको आधार हो भन्न सकिन्छ ।

अवसर र आधारको खोजीमा यो कालमा नभौंतारिनेहरू कमै होलान् र त्यही जस्तै केही कट्टर देखिने गरी यूके भित्रिएका राघवलाई वर्तमान बेलायती अवस्था र प्रेमपूर्ण उनको दाम्पत्य जीवनले अनौठोसँग विमुढ बनाएको हो, राघव स्वीकार्दछन् । कागजपत्रहरूलाई एकत्रित गर्दागर्दै अनि सोही गतिमा विभिन्न स्थानहरूमा विभिन्न रूप र हालतको काम खोज्दाखोज्दै मार्था गर्भवती बनेकी थिइन् । अब, यहाँ काम खोज्दै गरेको अवस्था र मार्था गर्भवती हुन पुगेकी अवस्थालाई एकाकार गराउन खोजिएको नभई सान्दरि्भक यसरी बनाइएको हो कि त्यो अवस्थाको सुरुवात काम खोज्नुजस्तै गरी आततायी राघवलाई लागेको हो ।

विदेशीहरू सांसारिकतामा तिनको वैवाहिक जीवनलाई क्षणभङ्गुर सम्झने नन्दिताको भरोसाको आधार अनायासै खस्केको त्यो यस्तो दिन थियो जसबारे राघवले आजपर्यन्त सूचित गर्न सकेका छैनन् । सांसारिकतालाई एक-अर्कासँग पारस्परिक बनाउन सक्षम एक छोरीको रूपमा भर्खरै मार्थाको कोखबाट जन्मेपछि वास्तवमा भन्ने भए आफू अब भने योजनाविहीन भएको राघव बताउँछन् भने नन्दितासँग एक पूरा जीवनको जस्तो सम्पूर्ण योजना छन् । बितेका दशकभित्र दाम्पत्य सुखको नाममा आफूले गुमाएका समयको भर्ताल गर्ने सोचका साथमा बितेका वर्षहरूलाई नरमाइलो सपनाजसरी भुलाउन सकिने योजना बुन्दै हतारिएर समय गुजार्दै गरेकी नन्दितालाई योजनाविहीन बन्दै गएका राघवको मानसिकताबारे केही पत्तै छैन ।

विछोडिएका सुरुका वर्षहरूमा जुन अनुपात र अनुरागका साथ साटिएका वार्तालापहरू थिए, त्यो अहिले दुवैले नै भुल्दै गरेको दुवैलाई लाग्न थालेको छ भने, अनौठोसँग मार्थाको संस्कृतिलगायत चालचलनहरूभित्र नचाहँदानचाहँदै एकाकार हुँदै जानु आफ्नो बाध्यता मात्र नभई अब अहिले समर्पण बढ्दै गएको राघव बताउँछन् । धर्म व्यक्तिभित्रको सत्यको प्रदर्शनी हो र त्यो सत्य कहिल्यै सङ्कीर्ण नहुने विश्वास दिनप्रतिदिन प्रबल हुँदै जानु र क्रिश्चियन धर्मभित्रका चलनहरूले मन लोभ्याउँदै जानु पनि उनी आफ्नो मार्था र सानी बच्चीप्रतिको समर्पण भन्न रुचाउँछन् । तर त्यही सत्यको प्रदर्शन भने अझै दुवैतिर अनि आफैसँग पनि गर्न सामर्थ्य जुटाउन सकेका छैनन् ।

नन्दिता र करिश्माबारे न त उनी अहिले सविस्तारसँग मार्थालाई भन्न सकेका छन् न मार्था र सानी छोरीबारे सम्बन्धलाई नन्दितासँग नै खुलाउन सकेका छन् । गीतामा लेखिएको ‘जे भइरहेको छ ठीक भइरहेको छ र जे हुनेछ त्यो पनि ठीकै हुनेछ’ भन्ने उक्तिलाई सत्य होस् भन्ने कामना हरेक दिन गर्न भने भुलेका छैनन् राघवले । कफीको तीतो स्वादलाई क्याम्डेन रोडको चहलपहल अनि हतारतिर मिल्काउँदै मुक्त हुन खोजेसरी आङ तन्काउँदै भन्छन्, ‘हतारमा जीवनलाई ढुक्कसँग बुझ्नै सकिएनछ विगतमा भन्ने अहिलेको मेरो स्थिरताले सुझाएको छ ।'

आफ्नो र जेठी श्रीमतीको नाम गोप्य राखेर भए पनि आफ्नो हालतको असमञ्जस परिस्थितिलाई सार्वजनिक गर्नका लागि उक्साएका राघवकै आकाङ्क्षाअनुसार नन्दितालाई पनि राघवको वर्तमान हालातमा खुलासा गर्न सकिएन, तर उनको भविष्यको योजनाबारे सुन्दा मन त्यसै अमिलो भएर आएको छ । आफू पढेर डाक्टर हुने लक्ष्य राखेकी करिश्मा दु:ख-अप्ठ्यारो जे-जस्तो भए पनि आफू भने श्रीमान्बाट एक्लिएर नबस्ने आफ्नी आमाको अगाडि खुल्लै भन्छिन् । उता सो भनाइले नन्दिताले के र कस्तो प्रतिक्रिया जनाइन् थाहा छैन, तर प्रत्यक्षत: भनिन्, ‘असमयमा मेरी छोरी प्रौढ बने पनि जीवनमा आइपर्ने हजारौँ अरुचिकर हालतबारे केही थाहा छैन । यसलाई जीवनमा सम्झौता कति गर्नुपर्छ भन्ने केही अनुमान नै छैन ।

के गर्नु, हाम्रो पालामा नेपाल नै यस्तै भइहाल्यो, यिनीहरूको पालामा यिनले भोग्ने नेपालमा एकप्रकारले स्थायित्व आओस्, त्यही कामना गर्दै छु ।’ राघव आफ्नो हालत र बाध्यता अनि यथार्थको खुलेरै भन्न केही सक्दैनन् । समाजले व्याख्या गरेर उचित अनि अनुचित भनाइएको अवस्थाहरूलाई सोही अर्थमा उनी बुझ्न चाहन्नन्, सायद यो क्षेत्रीको विवशता हुनसक्छ यो उनी साधारणतया बुझपचाउन खोज्दै छन् जिम्मेदारीको, तर खुल्न नचाहँदा पनि उनको हालतलाई सजिलै अनुमान गर्न सकिन्छ । धेरबेरै चुप बसेपछि उनी बोल्दछन्, ‘लामो समयको ग्यापको प्रभाव हुनसक्छ, त्यत्ति साह्रो पोल्दैन अचेल घरको सम्झनाले, किनकि, अमेरिकामा आफूले दु:ख गरेरै भए पनि नेपालमा परिवारको सुखको राम्रै जोहो गरिदिएकै हुँ, यत्ति हो कि सोचेजसरी योजनाहरू सफल भएनन् र बाँकी थाँती रहेका समयलाई कसरी जोडूँ, त्यो सोचले भने बाराम्बार जलाउँछ ।

पहिला नेपाल र्फकन र फर्केर फेरि उता जान मिल्ने व्यवस्थाको अभावमा दिनप्रतिदिन नेपाल फर्केको सपना देख्नेले अहिले नेपाल र्फकन र फेरि त्यताबाट यता र्फकन मिल्ने कानुनी अवस्थाले व्यवस्थित भइसक्दा पनि नेपाल यही हालातमा फर्किहाल्न सक्ने आँट जुगाड गर्न सकेको छैन । त्यसैले नै आफूलाई परिस्थितिको भरमा छाडिदिएको छु, अब त्यसले जता लान्छ त्यतै बहँदै गर्छु ।'

राष्ट्रियता थिलथिलो पारेर 'शरणार्थी'को लाममा

Prime Minister Baburam Bhattarai

एकपटक फेसबुकमा भनेको लाग्दछ, '.. बाबुराम भट्टराई प्रधानमन्त्रीमा चुनिएपछि, अचानक आशाहरू सर्वत्र तैरिएझैं महसुस भएको छ । यद्यपि म माओवादी समर्थक भने होइन ।'

म राजनीति गर्ने मान्छे होइन, मलाई लाग्दछ, म त्यो हुँ, जो मुलुक एकप्रकारले नीतिगत देख्न चाहन्छ र सोही नीतिभित्रको एक नैतिक उपस्थितिमा आफ्नो मत देख्दछ । दु:खेसोहरू कति छन् कति? अहिलेसम्मको नेपाली परिवेश भनेको अर्काको पीडाले पनि घुत्रुक्कै पार्नसक्ने परिस्थिति हो । मलाई घोचिनु पर्दैन, तपाईंलाई घोच्ने सुइरोले मलाई पनि घोचेको हुन्छ । यो कालमा संसारका कुनाकाप्चातिर कति नेपाली त्यही र त्यस्तै घोचाइको पीडालाई साम्य पार्ने वा मल्हमपट्टी गर्ने प्रयासमा दिनप्रतिदिन झन् दुखेर मर्णान्त नियति बिताउन बाध्य छन् । यही कालमा कति नेपाली अन्य मुलुकका जनताका फलदायी व्यवस्थाहरू हेर्दै सपनाहरूका बिस्कुन सुकाउन बाध्य छन् ।

बितेका समय र अवसर नदोहोरिने यो कालमा भने नेपालमा त्यही अवस्था र अवसरहरू बारम्बार दोहोरिरहन्छन् र नेतालगायत आमजनता त्यो अवस्था र अवसरहरूलाई बित्दै गरेको हेर्न लाचार छन् । र, यसपालि फेरि उस्तै अवस्था र अवसर अगाडि आएको लाग्दै छ, आततायी भएर यातनामयी लागेका माओवादी नेतृत्वले नेपालीका भत्भतिएको घाउमा सुखका सपना बाँडेर सुखानुभूति दिलाउन खोजेझैँ लाग्छ । अचानक आशाहरू झ्याङ्गिन थाल्दै छन् उही र उस्तै अवस्थाका परिवेशीय थाँक्राहरूमा पनि ।

आचरण तथा प्रचलन माटोअनुसार हुन्छ भन्नु गलत हुन्छ । आचरण तथा प्रचलनभरि सामाजिकताको प्रभाव मुख्य रूपमा फैलिएको हुन्छ । सामाजिकतामा व्यक्तिविशेषका चालचलन अवस्थित भएको हुन्छ र त्यही चालचलनले बिस्तारै सो परिवेश अनि माटोको प्रतिनिधित्व गर्दै जान्छ । सायद यो पीर हुनसक्छ, वा यो त्यो अवस्था हुनसक्छ, जसले खासगरी यूकेको रसमोर बोरोहलाई प्रतिनिधित्व गर्ने एमपी जेराल्ड होवार्थलाई भित्रभित्रै खाइरहेको हुनुपर्छ ।

यही बेलायतका लागि अनि बेलायतको तर्फबाट लड्दै जीवनको सबैभन्दा ऊर्जाशील समय खर्चेका वृद्ध गुर्खाहरूका सो क्षेत्रवरपर पत्नीसहित भएको नयाँ स्थायी बसोबास र तिनका यापन शैलीसँग स्थानीय आमशैलीमा परेको विभिन्नताले उब्जाएको असंयोजित परिदृश्यलाई आधार बनाउँदै स्थानीयवासीहरूका मतलाई लिएर गुर्खाहरूका विरुद्ध ती एमपी खनिएका थिए र त्यही विरोधलाई प्रधानमन्त्री क्यामरुनसम्मुख लगेका थिए ।

फेरि एकपटक तिनै एमपीले वृद्ध गुर्खा दम्पतीहरूका समूहहरूलाई शरणार्थीहरूलाई जस्तै यूकेका विभिन्न स्थानहरूमा बसोबास गर्न बाध्य गरिनुपर्ने माग राखेका छन् भने आम अनि स्वाभिमान गुर्खालीहरू एकजुट भएर ती एमपीविरुद्ध खनिएका छन्, विभिन्न कार्यक्रमहरू गरिएका छन् भन्ने नेपाली समाचारमा लेखिएको छ । त्यहाँ पक्कै नै दुख्ने गरेर चोट लागेकै हो । त्यसको अर्को पाटो छ जो यस लेखोटमा उल्लेख गर्ने जमर्को गरिएको छ ।

'बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा, रगतमा मेरो, पखेरोमा म जन्मेँ, टाकुरामा म खेलेँ ...।' हो, वास्तवमै बहुसङ्ख्यक नेपालीको परिचयमाथिको यति पङ्क्तिले दिन सक्दछ । डाँडाकाँडा, पाखापखेरा हामी नेपालीको पर्यायवाची परिचयात्मक सम्बन्धन हो । अहिले पनि हामी मूलको पानी पिएको कुरा गर्दछौँ, जस्तो मूलको पानी, पानी नभएर भिटामिन होस् । हामी अझै पनि ती पाखापखेराहरूको कुरा गर्दछौँ, जसको प्रसङ्गले हाम्रो शारीरिक सामर्थ्यलाई विज्ञापन गरेको होस्, जसको व्याख्याले हाम्रो निष्कपटपन अनि निश्छलताको प्रमाणलाई पुष्टि गरेको होस् ।

असामाजिक बन्दै गएको नेपालका सयौँ पाखोपखेराबाट सीधासाधा लाग्ने गाउँलेका लस्कर मधेस वा सहर पस्न थालेको यता वर्षौं भइसकेको छ, दुई छाक ढुक्कले कमाउने सपनामा त्यही पाखापखेराका जागरणहरू विदेशी भूमिमा बाँच्नकै लागि सङ्घर्षरत छन् । हरियाली गुम्दै गएका नेपाली पहाडी गाउँघरतिर नल र पाइपका धाराहरूबाट हरहमेसा पानी भर्न थालिएको पनि त्यही सन्दर्भमा भन्नुपर्ने हुन्छ, अहिले वर्षौं भइसकेको छ । '... म झुक्दै नझुक्ने नेपालको छोरो...' साँच् ? के हामी झुक्दै नझुक्ने खालका छौँ ? या त्यस्तो खालका हौँ? या थियौँ?

संसार अहिले साँघुरिएको छ, त्यसैले एक आकारलाई सीधा हेरेर बुझ्ने जमाना गइसकेको छ । प्रतिस्पर्धा पनि अहिले विश्वव्यापी भइसकेको छ । खाना चाइनिज भएको छ भने श्रीमतीमा जापानिज, युवतीमा भारतीय, श्रीमान् तथा युवकहरूमा पश्चिमेली मूलका छनोटमा उत्कृष्ट भएका छन् । नेपाली युवतीलाई भारतीय वा जापानिज युवतीसँगको सौर्न्दर्यतात्मक अनि स्वभावशील प्रतिस्पर्धा भइसकेजस्तै युवकहरू पश्चिमेलीहरूसँग हीनताबोध गर्न थालिसकेका छन् । त्यस्तो परिवेशमा आम स्वभावहरू समयसापेक्ष परिवर्तनशील हुँदै गएका हुन्छन् ।

यो यही परिवेश हो, जहाँ नेपाली परिवेशजन्य मात्रै बन्न बाध्य हुन्छन् खासगरी विदेशी परिवेशमा भने स्वदेशमा त्यसको व्याख्या भनेको राष्ट्रिय गीतमा गरिने बखानजस्तै हो । यहाँ यूकेमा ती नेपालीपन अपच्य भएका छन्, अपाच्य मानिएका छन । कति त त्यही पनको अमन बोकेर झोक्रिन बाध्य छन् । साँघुरिएको संसारमा यहाँ एमपी होवार्थले भने अर्कै ग्रहबाट आएकाजस्ता लाग्ने प्रकारका वीर गोर्खालीको वृद्ध पुस्तालाई देखेका छन् र उनी त्यसरी नै सबैलाई देखाउन खोज्दै छन् ।

रसमोर बोरोह अन्तरगत पर्ने अल्डरसटमा कैयौँ वृद्ध गुर्खाहरू भत्ताकै लागि भनी बाँकी जीवन गुजार्नका यहाँ बसोबास गर्दै छन् । सडक तथा चउरहरूका आसपास रहेका फलफूलका बोटहरूबाट झोलाभरि कटुस, ब्लुबेरीलगायतका फलहरू टिपेर लाने, पार्कहरूमा शोभाका लागि उमारिएका फूलहरू चुँडेर लाने, घरअगाडि सडकमा नै पलेँटी कसेर बसी जुम्रा हेर्ने, गफगाफ गर्ने, पार्क तथा झ्याङहरूमा गई दिसापिसाब गर्ने, बथानहरूझैं लस्करै वरपर हिँड्ने या पसलहरूभित्र छिर्ने तर नकिन्ने, आदि प्रकारका व्यवहारहरूलाई एमपी होवार्थलगायतका स्थानीयहरूले स्थानीय आमबसोबासमा अपच्य देखेका हुन् भनिएको छ भने केही वृद्धवृद्धाहरूले पसलबाट मासुलगायतका वस्तुहरूको चोरी गर्दा पक्रिएका पनि सुन्नमा आएको छ ।

नेपाली स्वाभिमान, वफादारिता अनि कहिल्यै पनि नझुक्ने लोकोक्तिको अर्थ यहाँ यस्तो प्रकारको छ कि नेपालीका केही समूह नै त्यस्ता नेपालीहरू नभएका स्थानमा गई बसोबास गर्न चाहन्छन् भने केही आफूलाई पृथक् खालको नेपाली भनाउन खोज्छन् । ती जीवनको उत्तर्रार्धमा पुगेका नेपालीका सन्तानहरूलाई स्वाभिमानले गिजोलेन? के तिनले आफ्ना बाबाआमा वा ती आफन्तहरूलाई यहाँ शैलीहरूबारे बताउन सकेनन्? चाहेनन्? सित्तैमा पाइने कुरा नछोड्ने यथार्थमा अचेल आमनेपाली बुझाई रहेकोझैं लाग्दछ ।

भर्खरै थाहा लागेअनुसार, यूकेको कुनै समुद्री किनारामा त्यस्ता भत्तामा बाँच्ने वृद्धवृद्धा गुर्खाहरूलाई लगेर एउटा शरणार्थी शिविरमा जसरी राखिने र तिनलाई मेसमा जसरी सामूहिक रूपमा खानपानको व्यवस्था गरिने भन्ने प्रस्तावलाई 'छुट्टै पकाएर खान दिने भए जाने' भन्ने राय वृद्ध गुर्खाहरूले राखेका छन् । प्रश्न उठ्छ, जीवनको उक्त घडीको प्राप्ति भनेको खाएर बाँच्ने मात्रै नै हो त? के त्यसका लागि हाम्रो देश नेपाल त्यत्तिको अनुपयुक्त छ त? त्यो के त्यस्तो तत्त्व हो, जसले नेपालीहरूका मानसिकतालाई त्यत्तिको नैराश्यतापूर्ण अनि वस्तुवादी बनाएको छ? हामी नेपाली र हाम्रो नेपाल भन्ने भाव किन नेपालीहरूका मानसिकतामा धमिँलिँदै छ?

>हङकङमा अहिले कतिपय आईडीवाला नेपाली दम्पतीहरू छोडपत्र गर्दै आफन्त वा अन्य कसैसँग कागजी विवाह गरेर बीस-पच्चीस लाख रुपैयाँ कमाउने व्यवसायमा लागेका छन् । बीस-पच्चीस लाख खर्च गरेर विदेशिने समर्थ पैसावाल नेपालीले किन त्यत्तिको पैसाको लगानी गर्न सकिने सम्भावना नेपालमा देखेनन्? पैसाकै लागि नैतिकहीन बन्न नेपाली किन तयार भए?

यूकेमा दशौँ लाख खर्च गरेर विद्यार्थी पढ्ने बहानामा आउँछन् र हप्ताको बीस घन्टा काम गर्ने अभियानमा लाग्छन् । बीस घन्टाको कामले न त तिनलाई पढ्नलाई पुग्दछ, न त मज्जाले खानलाई पुग्छ । दशौँ, बीसौँ माइल पर गई काम गर्नु पर्ने कत्तिका बाध्यता त्यसैभित्र पर्दछ, तब तिनले तिनले कमाउने पैसाले खान पनि पुग्दैन । हप्ताको दुई दिन त्यस्तो परिस्थितिमा पढ्ने विद्यार्थीले पढाइमा कस्तो उच्चता हासिल गर्लान् त? के नेपालमा शैक्षिक स्तर त्यत्तिको खस्केको छ त? माथि पढ्ने बहानामा विद्यार्थी आएका यसैले भनिएको हो कि, तिनीहरूमध्ये अधिकांशको ध्याउन्ना भनेको आफ्नो डिपेन्डेड बनाएर श्रीमती वा श्रीमान् लाने वा श्रीमान् वा श्रीमतीको कागज गरी रकम असुल्ने नै हो, किनकि त्यस्ता डिपेन्डेडहरूले फुलटाइम काम गर्न जो पाउँछन् (यसमा पनि अहिले विशेष कानुनी अवस्था लगाइएको छ) ।

कतिपय नेपालीहरू विभिन्न कारणहरू देखाएर बेलायत, अमेरिका, फ्रान्सलगायतका मुलुकमा शरणार्थी बन्दै छन् । तिनले लगाउने गुनासाहरूमा नेपाली राष्ट्रियता थिलथिलो भएको हुन्छ । यो पनि त्यही सन्दर्भ हो, जहाँ हामी नेपाली र हाम्रो नेपालको भाव लाचार भएर नतमस्तक हुन्छ । किन त्यसरी औसत नेपालीलाई अहिलेको अवस्थामा, यो कालमा नेपालले धकेलिरहेको छ त? आखिर के हो त्यो कडी, जसको मारले नेपाली आममानसिकता पेलिएको छ?

दलहरूबीच राष्ट्रियस्तरमा सहमति भई सातबुँदे सहमतिलाई अहिलेको परिवेशमा अत्यन्तै महत्त्वपूर्ण मान्नु नै पर्दछ । एउटा जिम्मेवारीको खाका पार्टीहरूमा कोरिन थालिएको लाग्दै छ । समस्या अनि अनिश्चितताले शिथिल परिसकेका आमजनतालाई सानोभन्दा सानो राहत नै काफी हुन्छ, चाहे त्यो सरकारी व्यवहारमा गरिएका परिवर्तनहरू नै किन नहोस् । बाबुराम भट्टराईको नेतृत्वमा अहिलेका सरकारले मुलुकमा केही पक्कै नै गर्ने पक्का भएको छ । एउटा सम्भावनाका लहरहरू सर्वत्र चलेका छन् ।

प्रधानमन्त्रीबाट भर्खरै विद्यार्थीलाई अनि जनशक्तिलाई नविदेशिनका लागि आह्वान गरिएको छ । यो एउटा सुरुवात त साँच्चै नै हो । यद्यपि मुलुकभित्रै राष्ट्रियता आममनहरूबाटै हराउँदै गएको लाग्दछ भने नेतृत्व वर्गहरूमा मुलुकको स्वाधीनताप्रति केही ज्यादा नै खुकुलोपन नीति विद्यमान भइसकेको लाग्दछ र त हरेक सन्दर्भहरूमा ती भारत र चीनबाट निर्देशित भएका लाग्छन् । यो यस्तो अवस्था हो जो ब्रि्रनु र भत्किनुको ठीक केन्द्र रेखामा अवस्थित छ, हामी नेपाली अनि हाम्रो नेपालको एक पक्का आधारशिला बन्न सक्ने समयको यो घुम्ती एकतातिरबाट स्पष्ट जस्तै देखिन्छ भने अर्कोतर्फ छिन्नभिन्न हुनसक्ने सशंकित पाटो देखिन्छ । राष्ट्रियताका लागि राष्ट्रिय सहमति आफ्नो या आफ्नो पार्टीको, पक्षका लागि मात्र नसोच्ने हो भने यो एउटा यस्तो समय हो, जसमा इतिहासले राम्रो मोड पाउनेछ, नत्र यही खण्डले देशको स्वाधीनतालाई सदाकै लागि गुमाउन सक्ने पक्का जस्तै लाग्दछ ।

देशको माया शब्दहरूमा होइन, भनाइ तथा लेखाइहरूमा होइन, समय र परिवेशजन्य व्यवहारहरूमा देखिन जरुरी छ । मजस्ता हजारौँ अनि लाखौँ गैरमाओवादी हुँदाहुँदै पनि वर्तमान हालतमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको प्रधानमन्त्रित्वमा गठित सरकारको सफलताको हार्दिक कामना गर्दछन् । यो समयको माग हो भन्ने निम्नरूपमा म सोच्दछु र लाग्छ, यो सरकारको विकल्प छैन । ‘हामी नेपाली अनि हाम्रो नेपाल’ भन्ने र ठान्ने आमराष्ट्रवादी नेपालीलाई यो सरकारको सफलताको कामना गर्नु र साथ दिनुबाहेक अन्य विकल्पै छैन ।

-लन्डनबाट प्रकाश केसी.

*

Post a Comment (0)
Previous Post Next Post